नीति र विधिको कुरा गर्दा स्पष्टिकरण दिनुपरे पार्टीलाई हाेइन, जनतालाई दिइन्छ: जनार्दन शर्मा

काठमाडौं । सत्तारुढ नेकपाका स्थायी समिति सदस्य तथा पूर्व गृहमन्त्री जनार्दन शर्माले पार्टी र सरकारप्रति जनताको आसंका बढ्दै गएको बताए छन् । जनयुद्धका शहिद वेपत्ता योद्धा पत्निहरुको संस्था आधार एकल महिला समाजले आयोजना गरेको उपत्यकाबाट एसईई परीक्षा उत्तिर्ण गर्ने शहिद वेपत्ता योद्धाहरुका सन्ततीहरुलाई सम्मान कार्यक्रममा बोल्दै नेता शर्माले पार्टी कमिटी र जनताबीच सम्बन्ध टुटेका कारण यस्तो भएको बताए ।

उनले कार्यक्रमा बोल्दै यो संस्था जन्मिनुमा पार्टी जिम्मेवार रहेको बताए । मेरो विचारमा यो संस्था नजन्मिनुपथ्र्यो । तर जन्मियो । यो जन्मिनुमा पार्टी जिम्मेवार छ । त्यसकारण शहिद बेपत्ताहरुको सम्मान र व्यवस्थापनका लागि सबै क्षेत्रमा निश्चित वजेटको व्यवस्थापन गर्नुपर्नेमा उनको भनाइ थियो । आफ्नो निर्वाचना क्षेत्रमा हरेक पालिकालाई १० लाख बजेट छुट्याउन लगाएको उनले बताए ।

‘अब पार्टी संगठनलाई पूर्णता दिने काम सकियो, हिजो पार्टी स्टार्ट गरेर राखेको गाडिजस्तो थियो । अब हाम्रा ड्राइभरहरुले एक्सीलेटरमा खुट्टा राखिसक्नु भएको छ । तिव्र गतिमा गुढ्छ’ उनले भने, ‘मैले पनि एउटा डिपुटीको जिम्मेवारी पाएको छु । युद्धका वेलामा पनि डिपुटिको मोर्चा सम्हाल्दा थुप्रै युद्ध जितैको हो । अब पनि यो जिम्मेदारी सफलताका साथ पुरा गरिन्छ । पार्टीलाई विधि र नीतिमा चलाइन्छ ।’

नेता शर्माले माेर्चा फेरिए पनि संघर्ष अझै जारी रहेको भन्दै आफुले पार्टी र सरकारले गरेको गलत कामको निरन्तर विरोध गरिरहने बताए । ‘मैले पार्टी र सरकार विरुद्ध कहिल्यै बोलेको छैन् । तर पार्टी र सरकराका गलत कामको विरोधमा निरन्तर बोलिरहन्छु ‘ उनले भने, ‘मलाई केहि समय अगाडि पार्टीले स्पष्टिकरण सोध्ने भन्ने हल्ला पनि चल्यो । संघीयता लागु गर्नुपर्छ भन्दा, पार्टीभित्र नीति र विधिको कुरा गर्दा स्पष्टिकरण दिनुपर्छ भने स्पष्टिकरण पार्टीलाई होइन जनतालाई दिइन्छ ।’

नेता शर्माले हिजो युद्धको समयमा हतियार थोरै हुँदा पनि विचार बलियो भएका कारण लडाई जितेको तर अहिले पार्टी सरकार र सबै कुरा हुँदा पनि विचार कमजोर बन्दै जाँदा लडाई हारिरहेको महसुस भएको बताए । समाजावादको बाटो फराकिलो बनाउन पार्टीमा वैचारिक पक्षलाई बलियो बनाउनुपने उनको धारणा थियो ।

कार्यक्रममा २०७६ सालको एसईई परिक्षा उत्तिर्ण गरेका शहिद वेपत्ताका छोराछोरीहरुलाई सम्मानपत्र प्रदान गरिएको थियो ।

प्रकाशित मिति ७ भाद्र २०७६, शनिबार १५:४१

हामीलाई फेशबुकमा लाइक गर्नुहोस