यथार्थपरक सुपरहिराे भावेश जाेशी

‘क्रिश’ होस् या ‘अ फ्लाइङ जट’, व्यक्तिगत हारको पीडा कुनै पनि हिन्दी सुपरहिरो फिल्ममा हेर्न पाइएको थिएन । हलिउडका सुपरहिरोहरुको छायाँबाट उनीहरु मुक्त थिएनन् । भिलेन पनि निकै नाटकीय, क्यारिकेचर नै भन्न मिल्ने र फाइट पनि बालबालिकाहरुलाई रुचाउने खालका समावेश हुन्थे । तर, ‘भावेश जोशी सुपरहिरो’ चाहिँ परिपक्व प्रस्तुति र एजेन्डालाई सही ढंगमा उठान गर्नसक्ने फिल्म बनेको छ । विगतमा...

‘क्रिश’ होस् या ‘अ फ्लाइङ जट’, व्यक्तिगत हारको पीडा कुनै पनि हिन्दी सुपरहिरो फिल्ममा हेर्न पाइएको थिएन । हलिउडका सुपरहिरोहरुको छायाँबाट उनीहरु मुक्त थिएनन् । भिलेन पनि निकै नाटकीय, क्यारिकेचर नै भन्न मिल्ने र फाइट पनि बालबालिकाहरुलाई रुचाउने खालका समावेश हुन्थे । तर, ‘भावेश जोशी सुपरहिरो’ चाहिँ परिपक्व प्रस्तुति र एजेन्डालाई सही ढंगमा उठान गर्नसक्ने फिल्म बनेको छ ।

विगतमा हेरिएका हिन्दी सुपरहिरो फिल्मभन्दा केही डार्क छ भावेश जोशी सुपरहिरो । आलोकाँचो शैलीमा न्याय दिलाउन खोज्ने प्रयासलाई फिल्मीकरण गरिएको छ यसमा । एक साधारण व्यक्ति कसरी योद्धामा परिणत हुन्छन्, निकै इमानदारीका साथ देखाइएको छ । भावेश जोशीसँग तपाईं तुरुन्तै एकाकार हुनुहुनेछ । उनले जीवनमा खासै कुनै असर छाड्ने काम नगर्लान् तर उनी निकै गुणात्मक रुपमा प्रकट हुन्छन् ।

भावेश जोशी (प्रियांशु पाइँयुली) र सिकन्दर खन्ना (हर्षवर्धन कपुर) असल समाज निर्माणका लागि आवश्यक संघर्ष आफूहरुबाटै सुरु हुने विश्वासमा छन् । उनीहरु आफ्ना कुनै पनि कदम हर हालतमा इमानदार हुनुपर्ने पक्षमा दृढ छन् । रजत (आशीष वर्मा) एक तटस्थ पात्र हुन् । उनलाई दुवै पात्रप्रति सहानुभूति छ । सम्भवतः उनले दर्शकको प्रतिनिधित्व गर्छन् । फिल्ममा उनी ग्राफिक उपन्यास लेखक छन् ।

भावेश र सिकन्दर इन्साफ टिभी नामक डिजिटल प्ल्याटफर्मको स्थापना गर्छन्, जहाँ उनीहरु भ्रष्टाचारविरोधी भिडियोहरु अपलोड गर्छन् । उनीहरुले सडकमा पिसाब फेर्ने र रुख काट्नेहरुलाई हतोत्साहित गर्ने खालका भिडियो हाल्छन् । तर, जब एक शक्तिशाली पानी माफियासँग उनीहरुको जम्काभेट हुन्छ, तब कथाले अर्कै मोड लिन्छ ।

उनीहरुको सोचाइ नै बदलिन्छ र आफूहरु कतिसम्म बेकामे छन् भन्ने महसुस गर्छन् । त्यसैले समाजका कुपात्रहरुसँग लड्ने हो भने फरक बाटो अपनाउनुको विकल्प उनीहरुले देख्दैनन् । उनीहरुले अपनाउने बाटो कस्तो हुन्छ, फिल्मको कथा त्यही हो ।

‘उडान’, ‘लुटेरा’ र ‘ट्रयाप्ड’जस्ता धमाकेदार फिल्म निर्देशन गरेका विक्रमादित्य मोत्वानेले यसमा सुपरहिरोको पृष्ठभूमिमा राजनीतिक चेतना र अस्थीर समयलाई गाभेका छन् । निर्देशक मोत्वानेले स्वतन्त्र सोसल मिडियाको महत्व र जिम्मेवारी युवाहरुको उपस्थितिलाई राम्ररी बुझेको भान हुन्छ । यो फिल्ममा सडकमा मात्र फाइट हुँदैन, इन्टरनेटमा पनि फाइट चल्छ ।

पहिलो कुरा, यो फिल्मले दर्शकको चेतनास्तर वृद्धि गर्छ र त्यसपछि त्यो चेतनाका आधारमा वास्तविक जीवनमा पनि न्यायको पक्षमा उभिन प्रेरित गर्छ । यस्तै गतिविधिका कारण ‘भावेश जोशी’ वास्तवमै भारतीय सुपरहिरो फिल्म लाग्छ ।

फिल्म अनावश्यक लामो चाहिँ महसुस हुन्छ । हुन पनि फिल्म १५५ मिनेट लामो छ । केही छोटो भइदिएको भए दर्शकले यसलाई अझ रुचाउने थियो । खलनायक अझै स्वभाविक भइदिएको भए यो रियालिस्टिक सुपरहिरो फिल्मको उत्कृष्ट नमुना हुनेथियो ।

जेहोस् मोत्वानेले सुपरहिरो फिल्ममा हात हालेर फरकखाले काम चाहिँ देखाएका छन् । एउटा क्रियटिभ प्रोडक्सन हो भावेश जोशी सुपरहिरो ।

(द हिन्दुस्तान टाइम्सबाट)

प्रकाशित मिति २० जेष्ठ २०७५, आईतवार १०:१०

हामीलाई फेशबुकमा लाइक गर्नुहोस