जातले दलित कर्मले ब्राह्मण नरबहादुर सुनार

पूर्वी नवलपरासीको कावासोती नगरपालिका–३ का ४९ वर्षीय नरबहादुर सुनार (बुद्ध) का पुर्खाले जनै लगाएनन् । तर उनले भने विधि पूरा गरी जनै धारण गरेका छन् । दैनिक जप र मन्त्र पढ्छन् । उनमा संस्कृत भाषाको राम्रो ज्ञान छ ।

सुरूमा दलित समुदायको भएर पनि जनै लगाएको भनेर धेरैले आलोचना गरे । त्यसरी प्रश्न गर्ने नै अहिले उनीप्रति नतमस्तक छन् । हिन्दु धर्ममा गरिने कर्म जनैबिना अपूरो हुने सम्झाएपछि अहिले सबैले उनको प्रशंसा गरिरहेका छन् ।

उनले युवा अवस्थामा काठमाडौं र भारतका विभिन्न स्थानमा मजदुरी गरी बिताए । त्यसक्रममा गीता, रामायण, कृष्ण चरित्रजस्ता ग्रन्थ अध्ययन गरे । उनी सानो हुँदा घरमा बुबाले गीता पाठ गर्थे । उनमा भने दलित भएर पनि बुबाले किन गीता पाठ गरिरहनुहुन्छ भन्ने खुल्दुली थियो ।

धर्मले मानिसलाई अहिंसावादी र अनुशासित बनाउने आशय मनमा पलाएपछि उनी विभिन्न मठमन्दिर घुम्न लागे । त्यस क्रममा थुप्रै सन्त र महात्माको संगत गरे । उनले आफ्नो समुदायलाई दलित भनेर कुनै व्यक्तिले कामको आधारमा वर्गीकरण गरेको थाहा पाए । ‘वास्तवमा हामी आर्य समुदायको हिन्दु धर्मावलम्बी भएकाले तागाधारी नै हौं भन्ने बुझें,’ उनले भने, ‘हिन्दु धर्मगुरुसँग यस विषयमा प्रश्न गर्दा उहाँहरूले पनि कर्मअनुसार मानिसको वर्गीकरण गरेको बताउनुभयो ।’

उनले ०४४ सालमा मुक्तिनाथ पुगेर १०८ धारा स्नान गर्दै विधिपूर्वक जनै धारण गरे । ‘धर्मले मानिसलाई अनुशासित बनाउँछ, मानव सेवा गर्न अभिप्रेरित गर्छ,’ उनले भने, ‘म एक पुजारी भएकाले जनैबिना कर्म सिद्धि नहुने शास्त्रमा उल्लेख भएअनुसार धारण गरेको हुँ । म मात्र होइन, मेरो घरका दुई छोराले पनि जनै लगाएका छन् ।’ विश्वकर्मा मन्दिरको मूल पुजारी रहेका उनलाई वेद, रामायण, गीताजस्ता ग्रन्थको राम्रो ज्ञान छ ।

गाई संरक्षणमा स्थानीयले उनलाई बुद्ध भनेर चिन्छन् । सुनार ९ वर्षदेखि सडकमा बेवारिसे काठे गाई संरक्षणमा समर्पित छन् । ०६७ असोज १३ गते बेवारिसे २ गाई ल्याएर गौशालाको थालनी गरेका थिए । अहिले ५५ वटाको स्याहारसुसार गरिरहेका छन् । दूध दिने बेलासम्म घरमा राख्ने र उपयोगी हुन छाडेपछि गोठबाट धपाइदिने गरेका छन् । त्यस्ता गाई सडकमा पुग्छन् ।

‘पशुलाई आफ्नो स्वार्थअनुसार राख्ने र बूढो भएपछि छोड्नु पाप हो,’ उनले भने, ‘राष्ट्रिय जनावरलाई हिन्दु धर्ममा माताका रूपमा पूजा गरिन्छ । त्यसैले यसरी निकालिएका गाईको अपमान नहोस् भनेर संरक्षणको काम गरिरहेको छु ।’ बिहान उठेर गाईलाई घाँस, पराल हाल्छन् ।

मन्दिरमा नियमित पूजापाठ गर्छन् । दिउँसो स्थानीय वनमा गाई चराउन जान्छन् । पछिल्लो समय वनले चराउन रोक लगाएपछि दिनभर गाईबाच्छाको आहार जुटाउन भौंतारिन्छन् । यस्तो देखेर स्थानीयले गौशाला सेवा समिति गठन गरेका छन् । समितिमार्फत स्वेच्छाले स्थानीयले घाँस, पराल दिन्छन् ।

कान्तिपुरडेलीबाट सभार

प्रकाशित मिति २ माघ २०७५, बुधबार ०२:४७

हामीलाई फेशबुकमा लाइक गर्नुहोस